लज्जास्पद’ पराजयपछि ओलीको शरणमा पुगे प्रचण्ड, संसद्को शक्ति फेरबदल गर्ने प्रस्ताव
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले दलीय हैसियतलाई व्यापक परिवर्तन गरिदिएको छ । विघटित प्रतिनिधिसभामा चौथो शक्ति रास्वपालाई यस निर्वाचनले शक्तिशाली पहिलो राजनीतिक दलको रुपमा स्थापित गर्दा बाँकी दलहरु ‘रक्षात्मक’ अवस्थामा संसद्मा देखिने भएका छन् ।
रास्वपाले दुईतिहाइ नजिक बहुमत ल्याउँदा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाले आफ्नै मत जोगाउन सकेनन् । निर्वाचनकै मुखमा गठन भएको श्रम संस्कृति पार्टी पनि संसद्मा शानदार रुपमा प्रवेश गर्ने भएको छ ।
निर्वाचन आयोगले औपचारिक रुपमा प्रत्यक्ष र समानुपातिक गरी कुन दलले कति सिट प्राप्त गरे भनेर विवरण सार्वजनिक गरेको छैन । र पनि कुन दलले कति सिट पाए भन्नलाई भने अप्ठ्यारो छैन । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट ल्याउने देखिन्छ । जसकारण रास्वपा १८२ सांसदसहित भारी बहुमतको शक्ति बोकेर संसद्मा जानेछ ।
रास्वपापछि दोस्रो शक्तिको रुपमा कांग्रेस रहनेछ । कांग्रेस नै प्रमुख प्रतिपक्षी दल बन्नेछ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकबाट २० सिट प्राप्त गर्ने देखिन्छ । कांग्रेसको ३८ सिटसहित संसद् प्रवेश गर्दा नेकपा एमालेले प्रत्यक्षमा ९ सिट जितेको छ भने समानुपातिकमा १६ सिट प्राप्त गर्ने देखिन्छ । उसको २५ सांसद रहनेछन् ।
यसैगरी, प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा ९ सिट जित्नेछ । नेकपाको १७ सांसद रहनेछन् ।
कांग्रेस, एमाले, नेकपा क्रमशः एक स्थान तल झरेका छन् भने चौथौ शक्ति पहिलो राजनीतिक दल बनेको छ ।
कांग्रेस, एमालेमा प्रभावशाली नेता पराजित हुँदा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमबाट निर्वाचन भए । समकालीन नेता संसद्मा नरहँदा आफ्नो उपस्थितिलाई दमदार र प्रभावशाली बनाउने प्रचण्डले रणनीति बनाएका छन् ।
प्रचण्डको प्रस्ताव गुण्डुमा, जवाफको पर्खाइमा
नवनिर्वाचित प्रतिनिधिसभाको चौथो शक्ति नेकपाको संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसँग पार्टी एकता गरेर आफू प्रमुख प्रतिपक्षी दलको नेता बन्ने चाहनासहित प्रस्ताव अघि सारेका छन् ।
एमाले र नेकपाबीच पार्टी एकीकरण गर्नेगरी प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताप पठाएका हुन् । यसबारे एमालेले कुनै निर्णय र धारणा बनाइसकेको छैन । तर, गुण्डुस्थित ओली निवासमा यसबारे छलफल भने भएको बताइएको छ ।
तेस्रो दल एमाले र चौथो दल नेकपाबीच एकता भएमा दोस्रो कांग्रेसको भन्दा बढी सांसद संख्या हुने भएपछि प्रचण्डले आफूलाई संसदीय दलको नेता दिनुपर्ने शर्तसहित पार्टी एकताको प्रस्ताव गरेका हुन् । पार्टी अध्यक्ष एमालेबाटै बनाउन प्रचण्ड राजी भएको स्रोतको दाबी छ ।
एमालेको २५ सिट र नेकपाको १७ सिट गरी ४२ सांसद हुँदा संसदमा दोस्रो राजनीतिक शक्ति भइने हिसाबसहित प्रचण्डले आफू प्रमुख प्रतिपक्षी दलको नेता बन्ने गरी एमालेसमक्ष पार्टी एकीकरणको प्रस्ताव गरेका हुन् । प्रत्यक्षमा १८ र समानुपातिकबाट २० गरी ३८ सिट हुँदा एमाले र नेकपाबीच एकीकरण भए ४२ सांसद हुने छन् । जुन काग्रेसकाे भन्दा ४ सांसद बढी हुन्छ । by onlinepana.com

Join the conversation