वालेनको प्रधानमन्त्री शपथमा विदेशी राष्ट्रका सरकार प्रमुख नआउने
प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रका सरकार प्रमुखहरूलाई बोलाउने कुनै तयारी छैन । १३ चैतमा बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय छ ।उक्त शपथ समारोहमा छिमेकी देशबाट पाहुना बोलाउने तयारी रहेको भन्दै सामाजिक सञ्जालहरूमा चर्चा रहेको छ । तर, परराष्ट्र मन्त्रालयले स्रोतले प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रबाट पाहुना बोलाउने गरी कुनै तयारी नभएको बताएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयबाट हुने गरेको छ ।
राष्ट्रपति कार्यालय स्रोतले पनि शपथ समारोहमा कुनै देशका सरकार प्रमुख वा उनका प्रतिनिधिको सहभागिता रहनेबारे सरकारका तर्फबाट कुनै जानकारी नआएको बताएको छ । ‘प्रधानमन्त्री कार्यालयबाट १३ चैतमा शपथ हुने सम्मको जानकारी आएको छ । त्यसको तयारीमा राष्ट्रपति कार्यालय जुटेको छ,’ राष्ट्रपति कार्यालयका एक जना अधिकारीले भने, ‘प्रधानमन्त्रीका शपथका बेलामा विगतमा गरिने तयारी नै यहाँबाट भइरहेको छ ।
’ प्रधानमन्त्रीको शपथ समारोहमा राष्ट्रपति कार्यालयले बिदा हुनै लागेका प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्रीहरु, संघीय संसद्का सबै सांसदहरु, संवैधानिक निकायका पदाधिकारी, सचिव, सुरक्षा निकायका प्रमुख, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूलार्य निमन्त्रणा पठाउने गर्छ । यसपटक पनि त्यही अनुसारको तयारी भइरहेको ती अधिकारीले जानकारी दिए । रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले पनि शपथ ग्रहण समारोहमा बाहिरबाट अतिथि बोलाउने कुनै तयारी नरहेको बताएका छन् ।
Join the conversation