साझा पाइला

चुनावीमा रकम वचाउने महावीर पुन



 म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुन ले आफ्नो चुनावी अभियानको खर्च विवरण सार्वजनिक गर्दै प्रचारप्रसारपछि बचत भएको रकम जन सेवामा प्रयोग गर्ने योजना सार्वजनिक गरेका छन्।पुनका अनुसार निर्वाचन अभियानका लागि विभिन्न २७ जना सहयोगीदाताबाट कुल ५६ लाख ३७ हजार ८९३ रुपैयाँ संकलन भएको थियो। 

४५ दिनसम्म सञ्चालन गरिएको प्रचारप्रसार अभियानमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र त्यसपछि २७ लाख ६९ हजार २५ रुपैयाँ बैंक खातामा बचत रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।उनले म्याग्दीको भौगोलिक अवस्था दुर्गम भएकाले चुनावी अभियान सञ्चालन गर्न चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन्। 


झापा वा काठमाडौँजस्ता सहज भौगोलिक क्षेत्रमा छोटो समयमै धेरै स्थान पुग्न सकिने भए पनि म्याग्दीमा त्यस्तो सम्भव नभएको उनको भनाइ छ। प्रचार अभियानका क्रममा १० देखि १६ जनासम्मको टोलीले बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गर्दै जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर मतदातासँग भेटघाट गरेको उनले बताएका छन्।प्रचार खर्चपछि बाँकी रहेको रकम अब सार्वजनिक सेवामा प्रयोग गरिने पुनले जनाएका छन्। उनका अनुसार उक्त रकमबाट म्याग्दीको सदरमुकाम बेनीमा आगामी पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गरिनेछ।