साझा पाइला

रास्वपा नेताहरू बिरामी

 





राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झा लगायत नेताहरू बिरामी परेपछि पार्टीको कार्यतालिका प्रभावित भएको छ ।कार्यतालिका प्रभावित भएपछि सरकार गठनको प्रक्रिया एक साता धकेलिने भएको हो । पार्टीका नेता मनिष झाले चैतको पहिलो साता नै सरकार गठन प्रकृया सुरु हुने जानकारी यसअगाडि दिएका थिए । तर नेताहरू बिरामी भएका कारण चैत पहिलो साता नै सरकार गठनको प्रक्रिया सुरु हुने अवस्था छैन ।

पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू बिरामी परेपछि संवाद हुन सकेको छैन । रवि सोमबार मात्रै निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यहीकारण जरूरी विधान संशोधन हुन नसकेकाले चैत १० अगाडि सरकार गठन हुने अवस्था छैन ।महामन्त्री कविन्द्र बुर्लाकोटी पनि अस्वस्थताका कारण घरमै आराम गरिरहेका छन् । सभापति रविलाई अस्पतालबाट केही दिन आराम गर्नु भनेका कारण तत्कालै केन्द्रीय कमिटी बैठक बस्ने अवस्था नरहेको पार्टी प्रवक्ता झा बताउँछन् ।सभापतिलाई सिजनल ज्वरो इन्फेक्सन तथा खुट्टामा लागेको चोटको गहिरो इन्फेक्सन देखिएको बताइन्छ ।

 पार्टी स्रोतका अनुसार रविलाई एन्टिबायोटिकले काम नगरेका कारण इन्जेक्सनमार्फत उपचार गरिएको छ।सभापतिज्यूले मंगलबार र बुधबार हुने सांसदहरूको प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्ने तालिका छ । उहाँ शिक्षण अस्पतालमा गराइसकेर घरमै केही दिन रेस्ट गर्नुहुन्छ’, पार्टीका एक नेताले, ‘यो साताभित्र सरकार गठन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन । वरिष्ठ नेता पनि बिरामी भएर भर्खरै निको हुनुभएको छ । अरु छलफल र संवाद हुन पाएको छैन ।


’बालेन्द्र पनि केही दिन अस्वस्थ भएपछि अहिले ठिक हुँदैछन् । उनको सचिवालयका धेरै सदस्य पनि बिरामी परेका कारण घरमै आराम गरिरहेका छन् । बालेन्द्र भने सरकार गठन तयारीको काम गरिरहेका छन् ।