जलजला गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा
पर्वतको जलजला गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
खोपको माध्यमबाट विभिन्न रोगको रोकथाम, निवारण तथा उन्मूलन गर्दै शिशु, बालबालिका र मातृ मृत्युदर घटाउने उद्देश्यका साथ गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो। बुधबार आयोजित कार्यक्रममा गुणस्तरीय खोप सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धतासहित स्थानीय तह घोषणा गरिएको जनाइएको छ।
जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लका अनुसार गाउँपालिकाका नौवटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मदेखि ११ महिनासम्मका १६४ जना, १२ देखि १५ महिनासम्मका ४३ जना, १६ देखि २३ महिनासम्मका १२३ जना तथा २४ देखि ५९ महिनासम्मका ५७८ जना बालबालिकाले समयमै पूर्ण खोप प्राप्त गरेको पुष्टि गरिएको छ।
१६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला तथा जापानिज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाअनुसार प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिने स्वास्थ्य शाखाले जनाएको छ।
गाउँपालिकाले आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सबै बालबालिकालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
Join the conversation