साझा पाइला

पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा, केन्द्रीय सदस्य तिवारीसहित पूर्वअध्यक्षहरुलाई सम्मान

पर्वत/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औ साधारणसभाका अवसरमा तिवारी सम्मानित हुनुभएको हो । नेपाल पत्रकार महासंघ पर्वत शाखाको २०७३ देखि २०७७ सम्म नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्ष भएर काम गर्नुभएको थियो । यसैगरी तिवारीलाई पर्वत शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले दोसल्ला ओढाएर पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । २०६१ साल मंसिरदेखि पत्रकारितामा सक्रिय तिवारीले आदर्श समाज दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिकलगायत आधा दर्जन रेडियो हुँदै हाल शुभ सन्देश मिडियाद्धारा सञ्चालित शुभ सन्देश साप्ताहिक र सारथीन्युज अनलाइनमा कार्यरत हुनुहुन्छ । नेपाल प्रेस युनियन पर्वतको २०६७ देखि २०७६ सालसम्म अध्यक्ष हुनुभएका तिवारी हाल नेपाल पत्रकार महासंघका दोस्रो पटक केन्द्रीय सदस्य हुनुहुन्छ ।
तिवारीसंगै पर्वत शाखाले पत्रकार प्रनिश गिरी र गणेश गिरीलाई पनि पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो । यसैगरी कार्यक्रममा विभिन्न समयमा नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्ष भएर काम गर्नुहुने ओमप्रसाद शर्मा घायल र सन्तोष थापालाई पनि सम्मान गरेको थियो । शर्माले ०६४ र थापाले ०७७ सालमा नेपाल पत्रकार महासंघ पर्वत शाखाको नेतृत्व गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गण्डकी प्रदेश सरकार जहिल्यै पत्रकारको हकहितको पक्षमा रहेको बताउनुभयो । पत्रकारिताको प्रबद्र्धन र सञ्चारमाध्यमहरुको संबद्र्धनमा गण्डकी प्रदेश सरकार सधै सकारात्मक रहेको पनि मन्त्री रिमालले धारणा राख्नुभयो । उहाँले गण्डकी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हब रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकास गरी आर्थिक सम्वृद्धि हासिल गर्न पत्रकारहरुले लुकेका पर्यटकीय गन्तव्यहरुको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
धार्मिक तथा सांस्कृतिक महत्व रहेको पालिकाको महाशिला धामको पर्यटन प्रवद्र्धनको उद्देश्य सहित पत्रकार महासंघ पर्वतको साधारणसभा महाशीला गाउँपालिकामा आयोजना गरिएको हो । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा आयोजित साधारणसभामा पूर्व पर्यटन मन्त्री मित्रलाल बस्याल, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुषाल, पत्रकार महासंघ केन्द्रिय सदस्य छविलाल तिवारी, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, महाशीला पालिकाका पुर्व अध्यक्ष राजु पौडेल, प्रेस काउन्सिल नेपाल संपरिक्षण समिति सदस्य हरिओम शर्मा लामिछाने, उवासंघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले आफ्नो भनाई राख्नुभएको थियो । 

source - sarathi news