साझा पाइला

कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका अभियुक्त पक्राउ

 



पर्वत, जेठ २७ — पर्वत प्रहरीले कर्तव्य ज्यान तथा डाका चोरी मुद्दामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार गत जेठ ८ गते फलेवास नगरपालिका–५ खानिगाउँमा बस्दै आएकी ५२ वर्षीया सन्तु नेपाली (सोमकुमारी नेपाली) आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार मृतकको टाउकोमा गहिरो चोट लागेको, शरीर तथा कोठाभित्र रगत र मोबिल लतपतिएको, ग्यास खुला अवस्थामा रहेको तथा कोठाभित्र रहेको खाटमाथि अण्डाको क्यारेट आकारको जलेको खरानी फेला परेको थियो। साथै मृतकले लगाउने सुनका मुन्द्रा समेत हराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग गरी मृतकसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिहरूमाथि निगरानी गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानबाट फलेवास नगरपालिका–५ का २८ वर्षीय कुशल पुरी मृतकसँग निकट सम्पर्कमा रहेको तथा आर्थिक कारोबारसमेत गर्ने गरेको खुलेको थियो। घटनापछि उनका गतिविधि शंकास्पद देखिएको र उनी सम्पर्कविहीन बनेपछि प्रहरीले खोजी तीव्र बनाएको थियो।

खोजतलासका क्रममा जेठ २६ गते बिहान मोदी गाउँपालिका–५ पातिचौरस्थित होटल प्रिन्साको एक कोठामा लुकीछिपी बसिरहेको अवस्थामा पुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउपछि खानतलासी गर्दा मृतकले लगाउने ८ वटा सुनका मुन्द्रासमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।