खानीगाउँमा वडा कार्यालय भवन निर्माणको शिलान्यास
फलेवास नगरपालिका–५ खानीगाउँमा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले भवनको शिलान्यास गर्नुभएको हो।
स्थानीयवासीलाई सहज, प्रभावकारी तथा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त भवनको कुल लागत अनुमान रु। १ करोड २८ लाख ६२ हजार रहेको छ। भवन निर्माण कार्य ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निर्माण सम्पन्न भएपछि एकै भवनबाट वडा कार्यालयका विभिन्न प्रशासनिक सेवा प्रदान गरिनेछ। भवनमा ४ वटा कोठा रहने व्यवस्था गरिएको छ, जसले सेवाग्राहीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा सहभागी अतिथिहरूले भवन निर्माणले स्थानीय सरकारको सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा व्यक्तित्वलाई नगरपालिकाले सम्मानसमेत गरेको थियो।
फलेवास नगरपालिकाले “समुदायको विकास, हाम्रो प्रतिबद्धता” भन्ने नारालाई आत्मसात गर्दै स्थानीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

Join the conversation