पोखरा बसपार्क क्षेत्रमा महानगरको डोजर: ५० वर्षदेखिको योजनाले पायो गति
आजभन्दा करिब ५० वर्षअघि पोखरालाई व्यवस्थित बनाउन भन्दै तत्कालीन समयमा आधुनिक बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिएको थियो। उद्देश्य थियो—एकीकृत बसपार्कबाट यात्रु तथा सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउने। तर विडम्बना, अहिले बसपार्क क्षेत्रमा न बस भेटिन्छ, न यात्रुको चहलपहल। यात्रुहरू बस खोज्दै बागलुङ बसपार्क, टुरिस्ट बसपार्क, हरिचोक, छोरेपाटन र तालचोकसम्म पुग्न बाध्य छन्।

पृथ्वीचोकमा आधुनिक र व्यवस्थित बसपार्क निर्माण गरी यात्रु र यातायात व्यवसायीलाई सहज सेवा दिने लक्ष्यसहित सरकारीकरण गरिएको जग्गा वर्षौंदेखि उपयोगविहीन बनेको छ। वि.सं. २०३२ सालमा करिब २०५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा बसपार्क अहिले खुम्चिएर ४७ रोपनीमा सीमित भएको छ।
यस अवधिमा विभिन्न बहानामा बसपार्क क्षेत्रभित्र सुकुम्बासी बस्ती बसाल्ने काम भयो। तत्कालीन उपत्यका नगर विकास समितिका नेतृत्व तहबाट भएका निर्णयका कारण सरकारी जग्गामा धमाधम घर निर्माण हुन थाले। बसपार्कको चारैतर्फ अतिक्रमण बढ्दै गयो र सरकारी जग्गाको दोहन हुन थाल्यो। समयसँगै केही जग्गा किनबेचसमेत भएको दाबी गरियो। अवस्था यस्तोसम्म बन्यो कि एउटै जग्गामा तीन–तीन जनाले स्वामित्व दाबी गर्ने परिस्थिति सिर्जना भयो।
हिलाम्मे र धुलाम्मे अवस्थामा रहेको बसपार्कबाट अहिलेसम्म यात्रु चढाउने–ओराल्ने कार्य व्यवस्थित रूपमा सञ्चालन हुन सकेको छैन। यात्रुहरू अझै पनि सडक किनारमै लामो दूरीका सवारी साधन कुरेर बस्न बाध्य छन्।

पोखरा महानगरपालिका–९ मा रहेको यही बसपार्क क्षेत्रमा महानगरपालिकाले बिहीबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको छ। लामो समयदेखि योजनामै सीमित रहेको बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा डोजर चलाइएको हो।
विगत पाँच दशकदेखि विभिन्न कारणले अघि बढ्न नसकेको बसपार्क निर्माण कार्य अब कार्यान्वयन चरणमा प्रवेश गरेको महानगरको भनाइ छ। महानगरले बसपार्क क्षेत्रमा रहेका अनधिकृत संरचना तथा निर्माणमा बाधा पुग्ने अवरोध हटाउँदै परियोजनालाई पूर्णता दिने लक्ष्य लिएको छ। पोखराको गौरवका आयोजनामध्ये एक मानिएको यस परियोजनालाई सम्पन्न गर्न महानगर सक्रिय देखिएको छ।

पोखरा महानगरपालिका–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विस्थापित सुकुम्बासी परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था खोज्ने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार महानगरले उपयुक्त जग्गाको खोजी गरिरहेको छ।
बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन महानगरले सूचना जारी गरेपछि विभिन्न राजनीतिक दलहरूले निर्माण गरेका संरचनाहरू यसअघि नै महानगरलाई बुझाइसकेका छन्।
महानगरले सुकुम्बासीको नाममा बसोबास गरिरहेका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ। कुनै व्यक्तिको अन्यत्र निजी जग्गा रहेको प्रमाणित भएमा उसलाई सुकुम्बासीका रूपमा मान्यता नदिइने र आफ्नै जग्गामा बस्नुपर्ने व्यवस्था लागू गरिएपछि बसपार्क क्षेत्रमा रहेका केही परिवारले रातारात घर खाली गर्न थालेका छन्।
अब बसपार्क क्षेत्र खाली गराउने अभियानसँगै दशकौँदेखि अलपत्र रहेको आधुनिक बसपार्क निर्माणले गति लिने अपेक्षा गरिएको छ। यसले पोखराको सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विश्वास महानगरको छ।
Join the conversation