साझा पाइला

कुश्मा नगरपालिकाले ल्यायो झण्डै ९० करोडको बजेट, विकास र सुशासन प्राथमिकतामा

 


पर्वत, असार ७
१३औँ नगरसभामार्फत कुश्मा नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ८९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। बजेटअनुसार निर्माणाधीन प्रशासकीय भवन सम्पन्न गर्न २ करोड रुपैयाँ छुट्याइएको छ भने वडा तहका सडक, खानेपानी र सिँचाइ आयोजनाका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षालाई टेवा पुर्याउन कृषि यान्त्रीकरण तथा प्लास्टिक टनेल विस्तार कार्यक्रमलाई समेत बजेटले समेटेको छ। शिक्षा क्षेत्रमा छात्रवृत्ति, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण तथा दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ। त्यस्तै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न योजनामा बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ। आगामी वर्षको नीति तथा कार्यक्रममार्फत संस्थागत सुदृढीकरण, डिजिटल प्रशासन, कृषि र पर्यटनलाई आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाइने जनाइएको छ। जिल्लाका स्थानीय तहमध्ये आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तहका रूपमा कुश्मा नगरपालिका अघि आएको छ।