साझा पाइला

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पर्वतका जितबहादुर विकलाई २६ वर्ष कैद सजाय





पर्वत, ११ असार \पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका ५१ वर्षीय जितबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ। अदालतले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको हो।

जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले असार ९ गते विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै उक्त सजाय सुनाएको अदालतले जनाएको छ। अदालतका अनुसार विकले वि।सं। २०८२ साल कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा संकलित प्रमाण, साक्षीका बयान तथा परिस्थितिजन्य तथ्यका आधारमा अदालतले विकलाई दोषी ठहर गरेको हो। अदालतले घटनाको प्रकृति, अभियुक्तको आपराधिक पृष्ठभूमि, प्रस्तुत प्रमाण तथा पटके अपराध गरेको अवस्थालाई आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ।

मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरणअनुसार विक घटना हुनुभन्दा करिब दुई महिनाअघि जबरजस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए। उक्त मुद्दामा अदालतले तोकेको ५० हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी कारागारमै थिए।

विककी श्रीमती सीता विकले कात्तिक २४ गते धरौटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन्। तर कारागारबाट छुटेको भोलिपल्ट अर्थात् कात्तिक २५ गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पुनः पक्राउ परेका थिए।

घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। अनुसन्धानबाट संकलित प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।

  1. अदालतको फैसलासँगै विकले पत्नी हत्या प्रकरणमा दोषी ठहर भई २६ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ।