फलेवासमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न
पर्वत, असार १५
पर्वतको फलेवास नगरपालिका–६ देविस्थानस्थित चौबिस कुरियामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ आइतबार सम्पन्न भएको छ। ‘जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आयोजित महोत्सवको उद्घाटन फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले ब्यानर वाचन गरी गरेका हुन्।
फलेवास नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयको आयोजनामा भएको महोत्सवमा छिमेकी वडाका वडाध्यक्ष, कृषि प्राविधिक, सुरक्षाकर्मी, पत्रकार तथा ठूलो संख्यामा कृषक दाजुभाइ तथा दिदीबहिनीको सहभागिता रहेको थियो। महोत्सवमार्फत जलवायु अनुकूल कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै धान उत्पादन वृद्धि र कृषिमा आत्मनिर्भरता हासिल गर्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तिवारीले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा नयाँ चुनौती थपिएको उल्लेख गरे। उनले कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जातको प्रयोगमा कृषकलाई जोड दिन आग्रह गर्दै भने, ‘मौसम परिवर्तनसँगै धानको बीउ पनि परिवर्तन गर्न सकिन्छ। कम पानी लाग्ने र उत्पादन बढाउने जाततर्फ कृषक आकर्षित हुनुपर्छ।’
कार्यक्रममा असारे गीत, भजन तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो। सहभागीलाई परम्पराअनुसार दही–चिउरा खुवाएर राष्ट्रिय धान दिवस मनाइएको थियो।
नमुना कृषि सहकारीको अअध्यक्ष रमेश चपाइका अनुसार राष्ट्रिय धान दिवसलाई कृषिप्रति आकर्षण बढाउने, परम्परागत खेतीलाई आधुनिक प्रविधिसँग जोड्ने तथा जलवायु परिवर्तनका चुनौतीबीच कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। उत्त कार्यक्रम संचालन अर्जुन कुमार श्रेष्ठले गर्नु भएको थियो
Join the conversation