साझा पाइला

गृहमन्त्रीको गोप्य अनुगमनले सुरक्षा संयन्त्र नै अलमलमा

 


पर्वत, असार १९
गृहमन्त्री सुधन गुरुङको गोप्य सीमा अनुगमनले कोशी प्रदेशका सुरक्षा निकायलाई नै अन्योलमा पारेको छ। पूर्वसूचना बिना सीमावर्ती क्षेत्रमा पुगेका गृहमन्त्रीको यकिन अवस्थिति स्थानीय प्रशासन र सुरक्षा निकायले समेत थाहा नपाएपछि सुरक्षा संयन्त्र उच्च सतर्कतामा पुगेको हो।
स्रोतका अनुसार गृहमन्त्री शुक्रबार साँझ कोशी प्रदेश पुगेका हुन्। उनी सुनसरीका सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षणमा रहे पनि कुन स्थानमा छन् भन्ने जानकारी औपचारिक रूपमा कुनै पनि सुरक्षा निकायलाई दिइएको छैन।
सीमा क्षेत्रबाट हुने तस्करी, राजस्व चुहावट तथा सीमाको वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनले गोप्य शैलीमा अनुगमन थालेको बताइएको छ। निरीक्षणका क्रममा उनी स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै वास्तविक अवस्था बुझ्ने तयारीमा रहेको स्रोतको भनाइ छ।
सुनसरीपछि उनी मोरङका विभिन्न सीमा नाकाको अवस्थासमेत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ। गृहमन्त्रीको अप्रत्याशित भ्रमणका कारण मोरङ र सुनसरीका सुरक्षा निकायले सुरक्षा निगरानी बढाएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री कोशी प्रदेश आएको जानकारी प्राप्त भए पनि उनी तत्काल कहाँ रहेको भन्नेबारे आधिकारिक सूचना नआएको बताएका छन्।
यसअघि पनि गृहमन्त्री गुरुङले मधेस प्रदेशको पर्सा जिल्लाका सीमावर्ती क्षेत्रमा पूर्वसूचनाबिनै पुगेर तस्करी र राजस्व चुहावटका विषयमा स्थानीयसँग प्रत्यक्ष जानकारी लिएका थिए। कोशी प्रदेशको यो अनुगमनलाई पनि त्यही अभियानको निरन्तरताका रूपमा हेरिएको छ।