साझा पाइला

विश्वविद्यालयमा नयाँ नेतृत्व: सात उपकुलपतिबाट उच्च शिक्षामा सुधारको अपेक्षा



पर्बत, असार १९ — लामो समयदेखि नेतृत्वविहीन वा कार्यवाहकको भरमा सञ्चालन भइरहेका देशका सात विश्वविद्यालयले नयाँ उपकुलपति पाएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र बालेन शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेसँगै उच्च शिक्षामा नयाँ नेतृत्वको सुरुवात भएको छ।

नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।

विश्वविद्यालयहरूमा नेतृत्व अभाव, शैक्षिक क्यालेन्डरको अव्यवस्था, अनुसन्धानको कमजोर अवस्था र प्रशासनिक सुधारको आवश्यकता बढिरहेका बेला नयाँ उपकुलपतिमाथि सुधारको ठूलो जिम्मेवारी आएको छ।

उच्च शिक्षाका सरोकारवालाले नयाँ नेतृत्वले विश्वविद्यालयको शैक्षिक गुणस्तर, सुशासन, अनुसन्धान र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन्।