साझा पाइला

पोखरामा ‘राइट टु प्रोटिन रन’को पाँचौं संस्करण, चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा


कास्की ५ भदौ

प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ। असोज ३ गते लेकसाइडस्थित बसुन्धरा पार्कबाट सञ्चालन हुने दौडमा चार हजारभन्दा बढी धावक सहभागी हुने आयोजकले जनाएको छ।


नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको आयोजनामा तथा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा हाफ म्याराथन, खुला दौड, विद्यार्थी तथा ह्विलचेयरतर्फ गरी आठ विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताका विजेतालाई कुल १६ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


कार्यक्रमको उद्देश्य केवल खेलकुद प्रतियोगिता सञ्चालन गर्नु मात्र नभई प्रोटिनको महत्व, सन्तुलित पोषण र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउनु रहेको आयोजकको भनाइ छ। नेपालमा प्रोटिनसम्बन्धी पर्याप्त जानकारीको अभाव रहेकाले दौडमार्फत समुदायस्तरसम्म सन्देश पु¥याउने लक्ष्य लिइएको छ कार्यक्रम संयोजक समेज राजभण्डारीले बताउनु भयो ।

“यो कार्यक्रमलाई हामीले खेलकुदसँगै स्वास्थ्य, पोषण र पर्यटन प्रवद्र्धनको अभियानका रूपमा अघि बढाएका छौं। पोखराको पर्यटनलाई चलायमान बनाउने र प्रोटिन सचेतना बढाउने उद्देश्यले दौड आयोजना गर्न लागेका हौं।“ उहाँले बताउनु भयो ।


दौड बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुकसम्म पुगेर पुनः बसुन्धरा पार्कमै समापन हुनेछ। प्रतियोगिता सुरक्षित र व्यवस्थित बनाउन नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गरिएको आयोजक   सदस्य अशेष भट्टराई बताउनु भयो ।  उहाँले भन्नु भयो , “यस वर्ष करिब चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरेका छौं। सबै सहभागीको बीमा गरिएको छ र दौड मार्गभर स्वास्थ्य सेवा, हाइड्रेसन स्टेसन तथा आकस्मिक सेवाको व्यवस्था मिलाइएको छ।“


आयोजकका अनुसार कार्यक्रममा युवा, विद्यार्थी, खेलाडी, महिला तथा परिवारको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।


#sajhapaila #highlight #pokhara