साझा पाइला

किम्रुङ खोलाको बहाब खुल्यो, साविककै अवस्थामा बग्न थाल्यो

कास्की, २४ भदौ — पहिरो खसेर थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाब खुलेको छ। रातभर थुनिएको खोला बिहानदेखि साविककै अवस्थामा बग्न थालेपछि तत्कालको जोखिम टरेको छ।

मंगलबार राति करिब ८ बजे पहिरो खसेपछि खोला थुनिएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै किम्रुङ तथा मोदीखोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको थियो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मध्यराति करिब १२ बजेदेखि थुनिएको स्थानको एक छेउबाट पानी बग्न थालेको र बिहानसम्म खोला सामान्य अवस्थामा फर्किएको हो।

खोला थुनिएको सूचना पाएपछि सुरक्षाकर्मीको टोली पनि बिहानै पहिरो खसेको स्थानतर्फ गएको थियो। किम्रुङ खोला मोदी खोलामा मिसिने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ।