कुश्मामा ३७ वर्षीया महिला हराएपछि खोजी जारी, ज्ञादी पुलमा चप्पल फेला
पर्बत , २१ भदौ — पर्वतको कुश्मामा कार्यालय सहयोगीका रूपमा कार्यरत ३७ वर्षीया शान्तिकुमारी रिमाल पाध्या हराएपछि प्रहरीले खोजीकार्य तीव्र पारेको छ।
कुश्मा नगरपालिका–१४ आर्थर घर भई हाल कुश्मा नगरपालिका–६ मैत्रीचोकस्थित राष्ट्रिय बालशिक्षा सदनमा कार्यालय सहयोगीका रूपमा कार्यरत र सोही भवनमा बस्दै आएकी पाध्या शनिबार बिहान करिब ६ बजे सुतेको कोठामा नभएको पाइएको थियो।
उनलाई नभेटिएपछि बिहान करिब ९ः३० बजे प्रहरीलाई जानकारी गराइएको थियो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमान्डमा १० जनाको टोली खोजीमा खटिएको प्रहरीले जनाएको छ।
खोजी गर्ने क्रममा कुश्मा नगरपालिका–९ ज्ञादीस्थित पुलमा एक जोर चप्पल फेला परेको प्रहरीले जनाएको छ। उक्त चप्पल हराइरहेकी महिलाकै भएको उनका १६ वर्षीय छोरा सन्तोष चापागाईंले सनाखत गरेका छन्।
पाध्याको पारिवारिक सम्बन्ध श्रीमान्सँग राम्रो नरहेको प्रहरीले प्रारम्भिक विवरणमा उल्लेख गरेको छ। घटनाबारे थप विवरण तथा महिलाको अवस्थाबारे खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। ज्ञादी पुल घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट करिब २ किलोमिटर दक्षिणमा पर्छ।
Join the conversation