साझा पाइला

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार

डोल्पा । डोल्पास्थित कारागार कार्यालयबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्। शनिबार बिहान कैदीबन्दीको हाजिरी रुजु गर्ने क्रममा दुई थुनुवा र छ जना कैदी फरार भएको खुलेको हो।

प्रहरीका अनुसार फरार कैदीबन्दीले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ खनेका थिए। सुरुङ खन्ने क्रममा बीचमा सेफ्टी ट्यांकी परेपछि त्यसलाई छल्दै बाहिर निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

तीन दिनअघि मात्रै कारागारभित्र लागुऔषध बिक्री वितरण भएको घटना सार्वजनिक भएपछि ड्युटी इन्चार्ज परिवर्तन गरिएको थियो। त्यसलगत्तै भएको यो घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक अनिल राज गिरीका अनुसार फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको छ। प्रारम्भिक विवरणअनुसार उनीहरूले करिब चार मिटर लामो सुरुङ खनेका थिए।

जिल्ला प्रशासन कार्यालय डोल्पाले सुरक्षाकर्मीको सहयोग वा मिलेमतोबिना यति ठूलो सुरुङ खनेर कैदीबन्दी फरार हुन कठिन रहेको निष्कर्ष निकालेको छ। सुरुङ खन्दा निस्किएको माटोको व्यवस्थापन र सुरक्षा निगरानीमा समेत गम्भीर कमजोरी देखिएको प्रशासनको भनाइ छ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले घटनाले सुरक्षाकर्मीको लापरबाहीसँगै समग्र सुरक्षा व्यवस्थापन र निगरानी प्रणालीमाथि प्रश्न उठाएको बताइन्। घटनापछि कारागारमा खटिएका सुरक्षाकर्मीको ड्युटी र जिम्मेवारी हेरफेर गर्ने तयारी गरिएको छ।

कारागारमा जडान गरिएका सीसीटीभी क्यामेराको अवस्थासमेत निरीक्षण भइरहेको छ। फरार कैदीबन्दीको खोजी र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।