पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि: काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल १५२ रुपैयाँ कायम
पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएपछि नेपाल आयल निगमले घरेलु बजारमा पनि इन्धनको मूल्य बढाएको छ ।
निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको छ । यो नयाँ मूल्य दर २०८२ चैत २ गते बिहान ००:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुनेछ ।
अन्तर्राष्ट्रिय बजारको पछिल्लो लागत मूल्य अनुसार पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको भए तापनि उपभोक्ताको हित र सार्वजनिक सवारी साधनको सहजतालाई ध्यानमा राखेर निगमले मूल्य स्थिरीकरण कोषको प्रयोग गरी न्यून दरमा मात्र मूल्य बढाउने रणनीति लिएको दाबी गरेको छ ।
यति ठूलो दरमा मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा रसिया-युक्रेन युद्धका कारण इन्धनको बक्यौता रकम भुक्तानी गर्न नसक्दा आपूर्ति नै प्रभावित भएको अनुभवलाई स्मरण गर्दै निगमले हालको विषम परिस्थितिमा आपूर्ति प्रणालीलाई सहज बनाइराख्न मूल्य समायोजन अनिवार्य भएको स्पष्ट पारेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै नेपालमा पनि तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रतिबद्धता व्यक्त गरेको छ । by nepal press
Join the conversation