गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ । बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बुँदा राखेका हुन्।
उपसभापति शर्माले ‘सभापतिको राजिनामा अस्विकृत गर्ने प्रस्ताव’ शीर्षकमा लेखेका छन्–‘राजनीतिमा ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको सुरुवाती सय दिनलाई । त्यो ‘वार्म अप’ को अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परिक्षण र समग्र समिक्षा गर्न सकिन्न ।
नेपाली कांग्रेसले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयलाई लामो समयदेखि नागरिक पङ्क्तिमा जमेर बसेको असन्तुष्टि र निराशाको उत्कर्ष प्रकट भएको जनाएको छ । साथै कांग्रेसले निर्वाचन परिणामलाई नागरिकबाट तीन किस्तामा प्रकट भएको असन्तुष्टि भएको जनाएको हो ।
उपसभापति विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकमा पेस गरेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘फागुन २१ को निर्वाचनमा भएको पराजय सामान्यतया अप्रत्याशित बुझ्ने र बुझिने गरिए पनि वास्तविकतामा यो लामो समयदेखि नागरिक पङ्क्तिमा जमेर बसेको असन्तुष्टि र निराशाको उत्कर्ष प्रकट थियो ।’
Join the conversation