पर्वत चुवामा अफ्रिकन स्वाइन फिवर पुष्टि, ७० सुंगुर/बङ्गुर मरे
पर्वत/केही दिन अगाडि जिल्लाको कुश्मा नगरपालिका–८ चुवामा ‘अफ्रिकन स्वाइन फिवर’ शङ्का गरिएकोमा उक्त सङ्क्रमणको पुष्टि भएको छ ।
चुवामा रहेको एक सुँगुर÷बङ्गुर फार्ममा पालिएकामध्ये ४६ ओटा मरेपछि सङ्क्रमणको बारेमा अनुसन्धान सुरु भएको थियो। जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कुश्मा नगरपालिकाको पशु सेवा शाखाले सुँगुर÷बङ्गुर मर्नुको कारणको खोजी गर्दै लक्षणहरू हेर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको हुन सक्ने शङ्का गरेका थिए ।
उक्त फार्मबाट सङ्कलन गरिएको नमुनालाई परीक्षणको लागि काठमाडौँस्थित ‘सेन्ट्रल भेटेरिनरी ल्याबरोटरी’ मा पठाइएको थियो ।
उक्त परीक्षणबाट ती सुँगुर÷बङ्गुर मर्नुका कारण ‘अफ्रिकन स्वाइन फिवर’ नै रहेको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु चिकित्सक तथा निमित्त कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले बताए ।
सुरुमा सङ्क्रमणको अनुमान गरिएको चुवाको स्मृति फार्ममा पालिएकामध्ये ३८ ओटा पाठा र आठओटा माउ गरी ४६ ओटा मरेकोमा अहिले उक्त खोरमा रहेका सबै सुँगुर÷बङ्गुर मरेर खोर नै रित्तिएको उनको भनाइ छ ।
त्यहाँको सङ्क्रमणको पुष्टि भइसक्दा कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको वसन्त फार्ममा पालिएकामध्ये तीनओटा मरेको खबर आएपछि कार्यालयबाट पशु चिकित्सकहरूको टोली पुगेको श्रेष्ठले बताए ।
‘सुरुमा खोर नै रित्तो भइसकेको रहेछ । त्यहाँ करिब ६५ ओटा जति मरिसकेका छन् । पछि कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको वसन्त फार्ममा पनि मरेको सूचना आयो । हामी शुक्रवार नै त्यहाँ पुगेर जैविक सुरक्षा विधिको बारेमा सिकाएर आएका छौँ’, उनले भने, ‘जिल्लाका अन्य स्थानमा सङ्क्रमण पुगेको छ छैन सबै ठाउँबाट जानकारी आइसकेको छैन । अहिले प्रारम्भिक नै भएकोले सबै ठाउँमा नपुगेको भए पनि पर्वतमा यसको पुष्टि भएकोले सङ्क्रमण फैलिने जोखिम उच्च रहेको छ ।’ चुवामा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिए लगत्तै दुवै कार्यालयहरूले सतर्कताका लागि आह्वान गरिसकेका थिए ।
रोगको आवश्यक रोकथाम र नियन्त्रण गर्नका लागि सुँगुर÷बङ्गुर ओसारपसार नगर्न तथा बजारबाट सङ्कलन गरिएको दाना प्रयोग नगर्न पशु सेवा शाखाले मासु तथा पशु व्यवसायी तथा सुँगुर÷बङ्गुर पाल्ने कृषकहरूलाई अनुरोध गरेका छन् । कुनै पनि शङ्कास्पद लक्षण देखिएमा शाखामा जानकारी गराउन वा पशु चिकित्सक तथा प्राविधिकहरूलाई सम्पर्क गर्न पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।
‘अफ्रिकन स्वाइन फिवर’ का लक्षणहरूमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको ज्वरो अचानक आउने, भोक नलाग्ने र सुस्त हुने, कान, पुच्छ र पेटतिरको छाला रातो, निलो वा बैजनी देखिने, आँखा र नाकबाट पानी वा फिँज निस्कने, श्वास फेर्न गाह्रो हुने, ब्याउने पशुमा गर्भ तुहिने, हिँड्न नसक्ने, अचानक मृत्यु हुने लगायत रहेका छन् ।
सङ्क्रमण भएको शङ्का भएको अवस्थामा ‘फार्म’ हरूमा जैविक सुरक्षाका उपायहरू अवलम्बन गरिहाल्नुपर्ने कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. रूपक कँडेलले बताए । यो रोग लागेपछिको उपचार र सङ्क्रमण हुन नदिनको लागि खोप नभएकोले जैविक सुरक्षा नै उत्तम उपाय मानिएको छ ।
त्यसका लागि रोगी पशुसँग प्रत्यक्ष सम्पर्क, सङ्क्रमित दानापानी तथा होटेल रेस्टुरेन्टबाट फालिएका सङ्क्रमित खानेकुरा र सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा फैलिने भएकोले त्यसबाट जोगिनुपर्ने पशु प्राविधिकहरू बताउँछन् ।
यस्तै सङ्क्रमणबाट जोगिन तथा फैलिन नदिन बङ्गुर पालिएको खोर र ‘फार्म’ परिसरमा नियमित सरसफाइ गरी चुना, ‘ब्लिचिङ पाउडर’, ‘फर्माइलिन’ लगायतका रसायन प्रयोग गरी निःसङक्रमण गर्ने, शङ्का लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने, घरपालुवा सुँगुर बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने, रोग देखा परेको क्षेत्रबाट बङ्गुर प्रजाति त्यसका पाठा पाठी, सङ्क्रमित मासु र दानाको ओसारपसार नगर्ने उपाय अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।
सुँगुर, बङ्गुर तथा बँदेललाई होटेल रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने, तयारी दानाबाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएर मात्र खुवाउने, ‘फार्म’ को मुख्य प्रवेशद्वार तथा खोर बाहिर निःसङ्क्रमणमा प्रयोग हुने रसायन सहितको व्यवस्था गर्न पनि प्राविधिकले सुझाएका छन् ।
गत साउनमा पनि जिल्लामा यसको सङ्क्रमण देखिएको थियो । जिल्लाको जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण ‘अफ्रिकन स्वाइन फिवर’सँग मिलेपछि नमुना परीक्षण गरिएको थियो ।
जिल्लामा पर्वतमा जिल्ला बाहिरबाट मासुजन्य पदार्थको आयात गर्दा सङ्क्रमण भित्रिन सक्ने जोखिम छ । कुश्माका होटलहरुमा बाहिरबाट मासु आयात गर्नु, मासुका अंश बढी हुनु वा फोहोर भएको खाना सङ्कलन गर्ने भाँडामा पुग्नु र त्यो भाँडाको खाद्यान्न बङ्गुरको दानाको रूपमा फार्मसम्म पुग्दा सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको छ ।
Join the conversation