साझा पाइला

भोटेकोशी बाढीबाट १२ बैंकका १७ शाखा प्रभावित, ७२ करोडभन्दा बढी क्षति


काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बैंक तथा वित्तीय क्षेत्रमा ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिवेदनअनुसार सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको एउटा शाखामा भएको छ। उक्त शाखामा मात्रै ६५ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ। यस्तै, सिटिजन बैंकको एउटा शाखामा एक करोड ५६ लाख, लक्ष्मी सनराइज बैंकमा एक करोड १२ लाख, हिमालय बैंक र माछापुच्छ्रे बैंकमा ७५–७५ लाख तथा नबिल र सानिमा बैंकमा ६३–६३ लाख रुपैयाँ क्षति भएको छ।

ग्लोबल आइएमई बैंकको शाखामा ११ लाख, एनआइसी एसियाका तीन शाखामा ८८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकका तीन शाखामा ४० लाख, एनएमबी बैंकमा चार लाख र प्रभु बैंकका दुई शाखामा ५३ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार शाखामा ६७ करोड १३ लाख रुपैयाँ, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ शाखामा चार करोड २३ लाख, कालिका गाउँपालिकामा एक शाखामा २८ लाख र उत्तरगया गाउँपालिकामा एक शाखामा ७५ लाख रुपैयाँ क्षति भएको छ।